काठमाडौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै केन्द्रीय सदस्य र पदाधिकारीको आइतबार एकमुस्ट जवाफ दिने भएको छ। बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समिति बैठकमा चार दिनसम्म २२१ जना नेताले आफ्ना धारणा राखेका छन्।
आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन निर्देशन दिइएको छ। पार्टी प्रवक्ता कृष्णबहादुर महराले आइतबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बैठक सम्पन्न हुने बताए। पार्टी अध्यक्ष प्रचण्ड आफैँले चार दिनसम्म नेताहरूले राखेको धारणा एक एक गरी कापीमा टिपोट गरेको छ। धैर्यसाथ सुन्दै उहाँले सबैको महत्त्वपूर्ण सुझाव, आलोचना र टिप्पणी सङ्कलन गर्नुभएको हाे।
पार्टीका उपमहासचिव वर्षमान पुनले केन्द्रीय सदस्यहरूले राखेको धारणालाई राजनीतिक दस्तावेजमा समेटिने बताए। “सदस्यहरूले बोलेका विषयलाई राजनीतिक प्रतिवेदनमा संशोधन गरेर समेटिने छ,” उनले भने, “यो प्रतिवेदनसाथ तीनमहिने राजनीतिक अभियान लिएर जनतामा जाने छौँ। त्यसपछिको अभियान सकिएलगत्तै विधान सम्मेलन गरेर पार्टीलाई विधान र विधिमा चलाउने छौँ।”
उनले पार्टी र नेता विधान अनुसार सञ्चालन हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जति पनि प्रश्न उठेका छन्, त्यसको सकारात्मक रूपमा लिएको बताए। उनले भने- “यसलाई पार्टी रूपान्तरणका अवसरका रूपमा लिएका छौँ र यसलाई सकारात्मक ऊर्जाका रूपमा लिएर जनतामा जाने राम्रो वातावरण बनाउने छौँ।”