धनगढी । कैलालीको चुरेमा जिप दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत जिल्लाको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा आईतबार राति जीप दुर्घटनामा भएको थियो ।
सुप प्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका वडा नं. ६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसईई दिएर घरतर्फ जाँदै गरेका उनीहरु जीप दुर्घटनामा परेका बताइएको छ । मृतक र घाइतेहरु चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।