धनगढी। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या पुग नपुग २७ लाख अर्थात २६ लाख ९४ हजार सात सय ८३ छ। योसँगै सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश बनेको छ। २०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो।
पछिल्लो १० वर्षको अवधिमा प्रदेशमा एक लाख ४२ हजार दुई सय ६६ (५ दशमलव २७ प्रतिशत) ले जनसंख्यामा बृद्धि आएको तथ्यांकमा उल्लेख छ। राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनेको छ । राष्ट्रिय जनगणनाको परिणाम अनुसार नेपालको जनसंख्या १० वर्षको अवधिमा दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ।
सुदूरपश्चिम प्रदेशका नौमध्ये पाँच जिल्लामा पछिल्लो दश वर्षको अवधिमा जनसंख्या घटेकोे देखिएको छ। पछिल्लो दश वर्षको अवधिमा प्रदेशका पाँच जिल्लामा जनसंख्याको वार्षिक वृद्धिदर एक दशमलव नौ प्रतिशतदेखि शून्य दशमलव १८ प्रतिशतले कमी (ऋणात्मक) भएको देखिएको छ ।
राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ, डोटी, बैतडी र डँडेल्धुरामा पछिल्लो दश वर्षको अवधिमा जनसंख्या वृद्धिदरमा ह्रास आएको छ।
