धनगढी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलाेचन भट्टले समृद्ध सुदूरपश्चिम निर्माणमा सबैले पार्टीकाे राजनीति भन्दा माथि उठेर लाग्नुपर्नेमा जाेड दिएका छन् । ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा शुभकामना सन्देश दिंदै पूर्वमुख्यमन्त्री भट्टले प्रदेशवासीकाे अपेक्षालाई पुरा गर्न समृद्धिलाई अबको मूल लक्ष्य बनाउनुपर्ने बताएका हुन् ।
२००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको स्मरण गर्दै नेपाली जनताका हक अधिकारकालागि त्यसयता भएका ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ । आफ्नाे पालामा प्रदेशकाे रणनीतिक पञ्चवर्षिय याेजना बनाएकाे र त्यसकाे मूलमर्म समृद्ध सुदूरपश्चिम रहेकाले अव हामी सबैकाे लक्ष्य त्यही अनुरुप हुनुपर्ने उनकाे भनाई छ ।
पूर्वमुख्यमन्त्री भट्टले सन्देशमा भनेका छन्, ‘आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् शहीदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नागरीक हकअधिकारकालागि न्यायीक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’