कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक, जसपा र उन्मुक्तिलाई विश्वासमा लिने कसरत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । सत्ता समीकरणको खेल रोचक बन्दै जाँदा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई समर्थन गरेका भए पनि सत्तामा नगएका दलहरुलाई समेटेर कांग्रेसले बैठक डाकेको हो ।

बैठक आज बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको हो । बैठकमा जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसमेत सहभागी हुँदैछन् । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका विषयमा छलफल हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही २३ गते सोमबार हुँदैछ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । साथै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यी निर्वाचनका लागि प्रतिपक्ष दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।

पुस १० गते तत्कालीन गठबन्धन टुटेर एमाले, माओवादीसहितको सात दलीय गठबन्धन बनेपछि कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायत दल विपक्षमा छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.