सुदूरपश्चिममा २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको दाबी पेस गर्न आह्वान गर्दै प्रक्रिया सुरु गरेका हुन ।

प्रदेश प्रमुख जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन ।

उपधारा (२) अनुसार नियुक्त गरिएका मुख्यमन्त्रीले ३० दिनभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानूनी व्यवस्था छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।

यो प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को १०, नागरिक उन्मुक्तिको ७, नेकपा (एकीकृत समाजवादी) को ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.