धनगढी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि कैलालीमा विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
धनगढी उपमहानगरपालिका–१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका–२ को वनदेवि मन्दिर र वडा नं ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका कैलालीले बताएको छ। यस्तै गौरीगङ्गा नगरपालिका–६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नं ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका–३ को वडा कार्यालय र टीकापुर नगरपालिका–१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ।
अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यी मतदाताको सङ्ख्या जिल्लामा चार हजार सात सय ७६ रहेको छ। स्थायी मतदाता भने पाँच लाख ३५ हजार पाँच सय १४ छन्।