धनगढी । नागरिक उन्मुक्ति पार्टीका दुई नेता रेशम चौधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज भएको छ। चौधरीले बर्दिया क्षेत्र नम्बर २ र थारूले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए। टीकापुर घटनामा दोषी ठहर भई चौधरी जेलमा छन्।
फरार सूचीमा रहनुभएका थारूले वारिसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो। प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट उम्मेदवारी दिएका रामबहादुर सिंहले थारूको उम्मेदवारी खारेज गरिपाउँ भनेर उजुरी दिएको थियो। सो उजुरीको आधारमा थारूको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ।
टीकापुर घटनामा संलग्नताको आरोपमा पुर्पक्षमै साढे तीन वर्ष कैद सजाय भुक्तान गरेका उनी २०७५ मा रिहा थिए। तर उच्च अदालत दिपायलले कैलाली जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पुनः दोषी नै ठहर गरेको छ। त्यस बेलादेखि थारू फरार सूचीमा रहेका छन्।