कैलाली ५ बाट प्रतिनिधिसभामा ओझा र प्रदेशमा भण्डारीकाे स्वतन्त्र उम्मेदवारी दर्ता

धनगढी । नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार राज्यमन्त्री पुस्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट आइतबार उम्मेदवारी दिएका छन् ।ओझा टीका र जमरा लगाएर उम्मेदवारी दर्ता गर्न आइतबार दिउँसो ११ः ३० बजे निर्वाचन कार्यालय पुगेका थिए ।

धनगढी सहितको क्षेत्र नम्बर ५ ले उपयुक्त उम्मेदवार नपाएको भन्दै आफूले उम्मेदवारी दर्ता गरेको उनले बताए । ओझा ०५६ को आम निर्वाचन तत्कालिन कैलाली क्षेत्र नम्बर ३ र ०७१ को उपचुनावमा क्षेत्र नम्बर ६ (हालको ५) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । ०५६ मा चुनाव जितेपछि उनलाई केही महिना सञ्चार राज्यमन्त्री पनि बनाइएको थियो ।

ओझालाई गत चुनावमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी कांग्रेस नेतृ आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा दुई वर्ष अघि पार्टी सदस्य नरहने गरेर कारवाही समेत गरिएको छ । नेता ओझाको उम्मेदवारी दर्ता कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका भाइ श्याम हमाल र कांग्रेस कार्यकर्ताको उपस्थिति थियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र ख मा काँग्रेस नेता भण्डारीकाे उम्मेदारी

नेपाली कांग्रेसका महासमिति सदस्य क्षितिज भण्डारीले कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्र्दै उम्मेदवारी दर्ता गरेको उनले बताए । भण्डारी नेपाली विद्यार्थी संघका कार्यवहाक सभापति पनि भइसकेका युवा नेता हुन ।

नेपाली कांग्रेसले सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि तथा युवा नेता प्रकाशबहादुर देउवालाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.