धनगढी । दशैंतिहार लगायतका चाँडपर्वमा यात्रुको अत्यधिक चापका कारणले दुर्घटनाको जोखिम बढ्दो हुने भएकाले प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सवारीसाधनमा निगरानी बढाइएको छ। दशैं तिहार चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत पहाडी जिल्लासँगै कञ्चनपुर र कैलालीका लामो रुटमा पनि टाईम कार्ड प्रणाली लागु गरेको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले महेन्द्रनगरदेखि चिसापानी र धनगढीदेखि चिसापानीसम्म चल्ने सवारीसाधनमा दसैं तिहारका बेला टाइम कार्ड लागु गरिएको जनाएको छ। यस्तै प्रदेश ट्राफिक प्रहरीले दशैं तिहार विशेष सुरक्षा योजना अन्तरगत सवारीसाधन चेकजाँचमा कडाई गर्नुका साथै लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ। प्रहरीले ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ।
यात्रु सहायता कक्षमा खटिने प्रहरी कर्मचारीले एक मिनेट यात्रुसँग कार्यक्रम अन्तरगत उनीहरुले भोग्नुपरेको समस्याबारे जानकारी लिने तथा उचित परामर्श दिने काम गरिरहेका छन्। यात्रुसँग बढि भाडा लिएको, चालक र सहचालकले अमिल्दो व्यवहार गरेको पाइएमा ठाउँको ठाउँमै कारकाही गरिने चेतावनी समेत प्रदेश ट्राफिक प्रहरीले दिएको छ।