धनगढी । हिजाे बिहीबारवाट विधिवत रुपमा सुरु भएको गाैरा पर्व अन्तर्गत आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउनेछन्। आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।
हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।
आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्। यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्डस्नान गर्ने गर्दछन्। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।
गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ।