धनगढी । धनगढी उपमहानगरपालिकाको ८ औँ नगरसभामा रु एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला रानाले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक आय रु २६ करोड,७९ लाख २४ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकार ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त रु ४७ करोड २९ लाख ३३ हजार र सरी आएको मौज्दात १० करोड रहने प्रक्षेपण गरिएको छ ।
यसअघि धनगढीका नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित वस्ती विकासलाई प्राथमिकता राखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जनस्वास्थ्य, सरसफाई तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण तथा व्यवसायीकरण, गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, आर्थिक विकास तथा राजश्व परिचालन, सूचना प्रविधि तथा सञ्चार विकास, उद्यम, स्वरोजगार र सहकारिता विकास, प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासन, भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवद्र्धन र विकास, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दीगो प्रयोग प्राथमिकताका क्षेत्र रहेको भन्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।