धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज (आइतबार) आउन लागेकोछ।आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
बजेट ल्याउनु भन्दा अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएअनुसार आज नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।स्थानीय तहको निर्वाचनका कारण मतगणना प्रक्रियाले सभा ढिला गरी सुरु भएको थियो। जेठ १६ गतेदेखि सुरु भएको प्रदेश सभाको दशौँ अधिवेशनको प्रथम बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले विनियोजन विधेयक २०७९ का सिद्धान्त तथा प्राथमिकतालाई छलफलका लागि पेस गरेका थिए।सो विधेयकमाथि सभामा तीन दिनसम्म व्यापक छलफल गरिएको थियो।
यसअघि आगामी नीति तथा कार्यक्रमका लागि विषयगत मन्त्रालयहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेका ड्राफ्टमाथि वृहत छलफलपछि प्राप्त सुझाव सल्लाहको आधारमा नीति तथा कार्यक्रमको ड्राप्ट भएकाे मुख्यमन्त्री कार्यलयले जनाएकाे छ । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।