माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कैलाली आउँदै
धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार कैलालीको गौरीगंगा नगरपालिकामा आउने भएका छन् । विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड बैशाख ८ गते गौरीगंगामा आउन लागेकाे माओवादी केन्द्रले जानकारी दिएको छ ।
सो कार्यक्रममा विभिन्न पार्टीका प्रभावशाली नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुका साथै अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) ले जानकारी दिए । कार्यक्रम गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मा मेला लाग्ने स्थानमा हुने चौधरीले बताए ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा माओवादी केन्द्रका उम्मेदवारलाई विजय गराउन पछिल्लोपटक माहोल बन्दै गएको माओवादी केन्द्रले जनाएको छ । साेही अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)काे प्रमुख आतिथ्यमा धनगढी विमानस्थलमा बिहीवार विहान ७:३० प्रेस सेन्टर नेपाल कैलाली समितिले प्रेस सम्मेलनकाे आयाेजना राखेकाे अध्यक्ष तेजराज भट्टले जानकारी दिएका छन् ।