त्रिदेशीय टी–२० सिरिजमा नेपाल च्याम्पियन

धनगढी । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालका लागि सन्दीप लामिछानेको कप्तानीमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । यससँगै नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिजमा खेपेको हारको बदला समेत लिएको छ ।

यसअघि भएको दुई खेलको एकदिवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । जितका लागि एकसय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेटको क्षतिमा ११८ रनमा समेटियो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । चाल्स अमिनीले १५ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ह्याट्रिक सहित चार विकेट लिए । अलराउन्डर दीपेन्द्र टी–२० मा नेपालका लागि सर्वाधिक हजार रन बनाउने खेलाडी समेत बनेका छन । उनले ३९ खेलमा एक शतक र चार अर्धशतकसहित एक हजार रन पूरा गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.