धनगढी, १९ फागुन। व्यवसायी गोपाल हमालले धनगढी उप-महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पदबाट राजीनामा दिएका उनले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हमालले नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए । घोषणा सभालाई सम्बोधन गर्दै हमालले भने, ‘मैले चार वर्ष धनगढीको विकासका लागि योजना बनाउनमा बिताएको छु । धेरै राजनीतिक दलले मेयरको टिकट दिन्छु भने पनि म धनगढी नगरवासीको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दिनेछु ।’
उनले अघिल्लो निर्वाचनमा ढिलो गरेर चुनाव चिह्न पाएको तथा उपमहानगरपालिका कतिपय क्षेत्र नयाँ भएकाले पराजय व्यहोर्नु परेको उल्लेख गर्दै आफूलाई नभएर धनगढीलाई जिताउन आहृवानसमेत गरे । हमालसँगै अन्य चार जनाले पनि स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
धनगढी उपमहानगरपालिका-४ को वडाध्यक्षमा सिद्धराज पनेरु, वडानम्बर ५ को वडाध्यक्षमा पदमराज भट्ट, १४ को वडाध्यक्षमा यम लामिछाने मगर र १५ को वडाध्यक्षमा कमलबहादुर ढाँटले उम्मेदवारी घोषणा गरेका छन् । वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चार जना पनि विवेकशील साझा पार्टीमा क्रियाशील थिए ।