सुर्खेत । तीन महिनापछि कर्णाली सरकारले पूर्णता पाएको छ। जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन महिनाभन्दा लामो समयपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। कात्तिक १६ गते शाही मुख्यमन्त्री नियुक्त भएका थिए।
सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा सहमति नभएपछि लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । आइतबार पाँच मन्त्रीले शपथ लिएका छन्। शपथसँगै मन्त्रिपरिषद्ले पनि पूर्णता पाएको छ। कार्यविभाजन अनुसार कांग्रेसका यज्ञबहादुर विसीले सामाजिक विकास मन्त्रालय, कांग्रेसकै हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।
नेकपा (माओवादी केन्द्र) का गणेशप्रसाद सिंहले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, माओवादी केन्द्रकै कार्चेन लामाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका पदम रोकायले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनाएको छ।