सुदूरपश्चिममा कोरोना सङ्क्रमण दर घट्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्दै गएकाे छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार अघिल्लो पाँच दिनको तुलनामा प्रदेशमा सङ्क्रमण दर घटेको देखिएको हो ।

माघ १० गते पोजेटिभिटी दर ३५.५५ प्रतिशत रहेको थियो । त्यो दिन कुल एक हजार ५४७ जनाको परीक्षण गर्दा ५५० जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, माघ ११ गते परीक्षण सङ्ख्या र पोजेटिभ हुने सङ्ख्या बढी थियो । तर, त्यो दिन पोजेटिभिटी दर भने ३३.३८ प्रतिशत रहेको छ । यस्तै माघ १२ गते पनि ३३.१८ प्रतिशत पोजेटिभिटी दर रहेको थियो । सो दिन एक हजार ८५० जनाको परीक्षण गर्दा ६१४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यी तीन दिनसम्म सङ्क्रमण दर महामारीको रुपभन्दा बढी रहेको थियो । ३० प्रतिशतसम्म पोजेटिभिटी दर पुगेमा त्यसलाई महामारीको रुपमा लिने गरिएको छ । माघ १३ गते भने परीक्षण संख्या धेरै रहे पनि पोजेटिभिटी दर भने कम रहेको छ । त्यो दिन एक हजार ९१३ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ५५८ जनामा संक्रमण पुष्टि भइ पोजेटिभिटी दर २९.१६ प्रतिशत रहेको देखिन्छ । यस्तै, माघ १४ गते संक्रमित हुनेको दर २८.७ प्रतिशतमा झरेको छ । यो दिन जम्मा एक हजार ६९३ जनाको परीक्षण गरिएको थियो । जसमध्ये ४८६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, माघ १५ गते पोजेटिभिटी दर २३ प्रतिशतमा झरेको छ । कुल एक हजार १०६९ जनाको परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी, निर्देशनालयको विगत छ दिनको तथ्याङ्कलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर विस्तारै घट्दै गएको छ । तर, अहिले परीक्षण पनि घटेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.