धनगढी । कैलालीमा भन्सारमा चालू आर्थिक वर्षको पहिलो छ महिनाको लक्ष्यभन्दा कम राजस्व उठेको छ । आन्तरिक राजस्व भने लक्ष्यअनुसार सङ्कलन भएको छ ।कैलाली भन्सार कार्यालयको चालू आर्थिक वर्षको साउनदेखि पुससम्म कुनै महिनामा पनि राजस्व लक्ष्य प्राप्त भएको छैन ।
अरू महिनामा गत आर्थिक वर्षको हाराहारीमा राजस्व सङ्कलन भए पनि असोजमा भने निकै कम राजस्व सङ्कलन भएको छ ।अघिल्लो वर्षको असोजमा ८२ करोड पाँच लाख राजस्व सङ्कलन भएकामा यस वर्षको असोजमा ७७ करोड ४६ लाख मात्रै सङ्कलन भएको छ ।
मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लक्ष्यअनुसार नै उठे पनि यस नाकाबाट आयात निर्यात घट्दा भन्सार महसुल लक्ष्यअनुसार उठ्न नसकेको प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए। कैलाली भन्सारबाट छ महिनाको अवधिमा ४० अर्ब ४० करोड ८१ लाख ४७ हजार रुपियाँको वस्तु आयात र १० करोड ३० लाख ५४ हजार रुपियाँ बराबरको मालवस्तु निर्यात भएको छ ।