किनमेल गर्न सीमा पारीका भारतीय बजार जान बन्देज
धनगढी । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले संक्रमित बढ्न थालेपछि सीमाबर्ती भारतीय बजार गएर किनमेल गर्न बन्देज गरेकाे छ । बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको डीसीसीएमसी बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि यहाँका नागरिक खुलेआम सीमावर्ती गाैरीफन्टा बनगाव पलिया लगातका बजार जाने गर्थे । भारतमा कोरोना संक्रमण दर बढिरहेको अवस्थामा कैलालीबाट दैनिकजसो नेपाली त्यहाँ जाने गरेकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
डीसीसीएमसीले किनमेललगायतका कामले सीमा नाका ओहोर-दोहोरमा रोक लगाउन जिल्ला प्रशासनलाई सिफरिस गरेको उनले बताए । अत्यावश्यक काम परेको खण्डामा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै प्रवेश गराउने निर्णयसमेत भएको सूचना अधिकारी जोशीले बताए । यस्तै बैठकले २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न यसअघिकाे आदेशलाई निरन्तरता दिइएको छ । होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, उद्यान लगायतका सार्वजनिक स्थानमा जाँदा बुधबारदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिने छ ।
भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।