धनगढी । शुन्यप्राय भएकाे कोरोना संक्रमण सुदूरपश्चिममा अहिले भारतबाट फर्किनेहरूमा धमाधम देखिन थालेकाे छ । भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिन थालेको हो।
केन्द्रीय कोभिड १९ व्यवस्थापन समितिको बैठकले केही दिन विधालय बन्द गर्नेदेखि सार्वजनिकस्थालमा २५ जनाबढी जम्मा हुन नपाउने लगायतका निर्णय सरकारलाई सिफारिस गरेकाबेला तेस्रो महामारी आउने अवस्थालाई मध्यनजर गरी सुदूरपश्चिमको स्वास्थ्य पूर्वाधार दोब्बर पारिएको प्रदेश सरकारको दाबी छ। सीमा क्षेत्रमा सबैको एन्टिजेन विधिबाट परीक्षण गरेर पोजेटिभ भएकाहरुको पीसीआर परिक्षण गरिँदै आएको प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताए।
‘तेस्रो लहरसँग सामना गर्न टीकापुर अस्पतालमा थप ५० बेडसहित १५ बेडको आइसियू, सेतीमा थप ५० बेडसहित १८ बेडको आइसियू तथा महाकाली अस्पतालमा पनि थप ५० बेडसहित १५ बेड क्षमताको आइसियू तयारी अवस्थामा राखिएको छ’, मन्त्री खड्काले भने। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिमका १२ अस्पतालमा अहिले ३९२ आइसोलेशन शय्या राखिएको छ। ती अस्पतालमा ४५ वटा भेन्टिलेटर, १ सय २६ वटा एचडियू बेड र ६३ शय्याको आइसियू कक्ष पनि छ। ५० बेडको आइसोलेशन रहेको सेती प्रादेशिक अस्पतालमा २१ वटा भेन्टिलेटर, १५ शय्याको आइसियू र ५ शय्याको एचडियू सेवा सञ्चालनमा रहेको छ। महामारीका २ लहरमा देखिएको संक्रमितको चापलाई मध्यनजर गरी जनशक्ति र उपकरणमा समेत जोड दिएको सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर हेमराज पाण्डेले बताए। ‘कोभिड बेड संख्या र आइसियूको क्षमता विस्तार गरिएको छ’, उनले भने।
उता ९३ शय्याको आइसोलेसन रहेको महाकाली अस्पतालमा ४१ शय्याको एचडियू, ६ शय्याको आइसियू र ६ वटा भेन्टिलेटर छन्। डडेल्धुरा अस्पतालमा ५० शय्याको आइसोलेशन छ। त्यहाँ २६ शय्याको आइसियू, २५ वटा एचडियू बेड र ८ वटा भेन्टिलेटर छन्। अहिले कोरोना संक्रमित बिरामीका लागि सेती प्रादेशिक अस्पताल र महाकालीसँगै डडेल्धुरा अस्पताल, टीकापुर र बैतडी जिल्ला अस्पतालमा पनि आइसियू सञ्चालनमा छन्। सेती, महाकाली, डडेल्धुरा, टीकापुर र बैतडी अस्पतालमा भेन्टिलेटर पनि राखिएको छ।
यस्तै सुदूरपश्चिमका पहाडी जिल्ला डोटीबाहेक सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको सामाजिक विकासमन्त्री खड्काको दाबी छ। ‘हरेक अस्पतालमा बेड र अक्सिजनसहित जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ’ उनले भने। तेस्रो लहर माघ दोस्रो साता उत्कर्षमा पुग्ने संक्रामक रोग विशेषज्ञहरुले चेतावनी दिइरहेका बेला सीमा क्षेत्र व्यवस्थापनका लागि भने प्रदेश सरकार संघीय सरकारको निर्णय पर्खेर बसेको छ।