धनगढी । अपाङ्ग महिला संघ नेपालकाे आयाेजनामा सुदूरपश्चिमकाे धनगढीमा अपाङ्गता भएका महिलामाथि हुने हिंसा कम गर्न सराेकारवालालाई प्रशिक्षण दिएकाे छ ।
पाँच दिनसम्म चलेकाे प्रशिक्षक प्रशिक्षण तालिममा सुदूरपश्चिमका अछाम, डडेल्धुरा, कञ्चनपुर र कैलालीका स्थानीय तहका जनप्रतिनिधि, अपाङ्गता भएका महिला प्रतिनिधि लगायत डेढ दर्जनबढी सराेकारवालाकाे सहभागिता रहेकाे आयाेजक अपाङ्ग महिला संघ नेपालका केन्द्रीय अध्यक्ष टीका दहालले जानकारी दिइन् ।
हाम्राे समाजमा अपाङ्गता भएका ब्यक्तिलाई हेयकाे दृष्टिले हेर्ने गरेकाे उदाहरण दिंदै उनले त्यसमा पनि महिलाहरुमाथि हरेक प्रकारले हिंसा हुने गरेकाे बताईन् । यसमा स्थानीय जनप्रतिनिधी र समाजिक संघसंस्थाकाे भूमिका अपरिहार्य रहेकाे उनकाे भनाई छ ।
अपाङ्गता भएका महिलामाथि हुने हिंसा न्यूनिकरण सम्बन्धि प्रशिक्षाक प्रशिक्षण तालिमकाे समापन गर्दै धनगढी उपमहानगरपालिका उपप्रमुख सुशिला मिश्र भट्टले तालिम आयाेजक संस्थालाई धन्यवाद दिंदै महिलालाई याे गर्याे भने हिंसा हुने र त्याे गर्याे भने हिंसा नहुने प्रकारकाे प्रशिक्षण गरिएकाेले समाज रुपान्तरणमा लाभदायी विश्वास ब्यक्त गरिन् ।
प्रशिक्षण कार्यक्रमकाे सहजिकरण अपाङ्ग महिला संघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं अपाङ्गता अभियानकर्मी अनिता दुङ्गानाले गरेकी थिईन् । 