काठमाण्डाैं । जग्गा प्राप्ति नहुँदा जनताका जनजीविका र विकास निर्माणसँग प्रत्यक्ष जाेडिएका याेजनाहरु कार्यान्वयन गर्न समस्य भएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्ट आफै यतिबेला संघीय सरकारका मन्त्रालय धाईरहेका छन् ।
याेजना निर्माण गर्दा संघीय सरकारबाट जमिनकाे स्वामित्व प्रदेश सरकारमा आउनुपर्ने प्रावधानले महत्वकासाथ छनाैट गरिएका याेजनाहरु कार्यान्वयनमा ढिलाई हुँदै आएकाे छ ।
यही समस्य समाधानकालागि प्रदेश सरकारले बारम्बार लेखि पठाउदा पनि छिटाे नहुँदा मुख्यमन्त्री भट्ट आफै संघीय सरकारका मन्त्रीसँग ताकेता गर्न सिंहदरवार पुगेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारको गौरबको आयोजनाको रुपमा रहेको धनगढीस्थित फाप्ला बहुउद्देश्यीय खेलकुद रंगशालाको जग्गा प्राप्तिको काम बिगतदेखि रोकिएकाले आयोजना अगाढी बढ्न सकेको थिएन् । गत आर्थिक बर्ष प्रदेश सरकारकाे कराेडाैंकाे बजेट फ्रिज भएकाे थियाे । यस्तै कैलालीकाे गाेदावरीमा प्रदेश राजधानी निर्माण कार्य पनि अगाडी बढ्न सकेकाे छैन । उता, डोटी पुर्बीचौकी गाउँपालिका २ बग्लेखका करिब ३ सय घरधुरीले आजसम्म जमिनकाे लालपर्जा पाएका छैनन् ।
यी लगायतका जग्गा प्राप्तिका समस्यालाई लिएर मुख्यमन्त्री भट्ट संघीय सरकारका भुमि व्यबस्था सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठसँग साेमवार भेट्न पुगेकाे मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिब सिं ओलीले जानकारी दिए । उनका अनुसार भेटघाटमा मुख्यमन्त्रीसँगै सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य टिएम स्वार लगायतका माओवादी नेता सहभागी थिए ।
छलफलपछि भुमि व्यबस्थामन्त्री श्रेष्ठले अब छिट्टै लालपुर्जा प्रदान गर्ने गरि मन्त्रालयले उक्त कार्य अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकाे माओवादी युवा नेता समेत रहेका ओलीले जानकारी दिए ।