काँग्रेस प्रदेश अधिवेशनः सुदूरपश्चिम सभापतिमा सात आकांक्षी
धनगढी । नेपाली कांग्रेसको प्रदेश तहको संरचना चयनका लागि आजबाट प्रदेश अधिवेशनको प्रक्रिया शुरु हुँदैछ । कांग्रेसले हालको विधान अनुसार आफ्नो संरचनालाई पहिलो पटक प्रदेश तहमा कार्यान्वयन गर्न लागेको हो ।
भोलि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने तालिका छ। प्रदेश तहको अधिवेशनका लागि कांग्रेसमा गुटअनुसार नै उम्मेदवार बन्ने सम्भावना बढेको छ । सुदूरपश्चिम प्रदेशमा सभापति बन्ने दौडमा नरनारायण शाह मनु, हिमबहादुर रावत, अर्जुनजंगबहादुर सिंह, पुष्पबहादुर शाही, गोविन्दबहादुर शाह, वीरबहादुर बलायर र भरतबहादुर खड्का गरी सात जना अघि बढेका छन् ।
यीमध्ये नारायण कैलालीका पूर्व सभापति हुन् । हिमबहादुर कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार थिए । यस्तै अर्जुनजंग बझाङका हुन् उनी पूर्व राज्यमन्त्रीसमेत हुन् । यसैगरी पुष्प डोटीबाट राजनीतिमा सक्रिय छन् भने गोविन्द अछामबाट सक्रिय छन् । उनीसमेत पूर्व राज्यमन्त्री हुन् ।
यसैगरी वीरबहादुर हाल कांग्रेस केन्द्रीय सदस्य छन् भने उनी केन्द्र सरकारमा भौतिक मन्त्रीसमेत भइसकेका नेता हुन् । भरत भने डोटीबाट राजनीतिमा सक्रिय छन् । सुदूरपश्चिमबाट प्रदेश सभापतिमा आकांक्षा राख्नेहरु भरत बाहेक अरु सबै संस्थापन समूह निकट मानिन्छन् । भरत भने इतर समूहका हुन् । उनी संविधान सभा सदस्यसमेत हुन् । हाल उनी प्रदेश सांसद छन् ।
संस्थापन समूहले भने यो प्रदेशमा वीरबहादुरलाई बलियो उम्मेदवारका रुपमा राखेको छ । उनी केन्द्रीय राजनीतिमासमेत प्रभाव राख्नेमा पर्छन् । प्रदेश तहको नेतृत्व चयनका लागि मतदान भने १८ मंसिरमा हुने कार्यतालिका छ । तर संस्थापन र इतर पक्षले अहिलेसम्म यो प्रदेशमा कसलाई उम्मेदवार बनाउने भन्ने तय गरिसकेको छैन ।