सुदूरपश्चिम प्रदेशका ४ सयबढी वडामा माओबादीका सम्मेलन सम्पन्न
धनगढी । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका ४ सयबढी वडामा सम्मेलन सम्पन्न गरेको छ । उक्त वडाहरुमा झण्डै १२ हजार सदस्यीय कमिटि गठन गरिएको छ । आज साेमबारसम्म सम्मेलन सम्पन्न भएका ४ सय ८ वडाका कमिटिमा कुल ११ हजार ९ सय २७ जना अटाएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष शरदसिंह भण्डारीले आज सम्म ४ सय ८ वडामा सम्मेलन सम्पन्न गर्दै सर्वसम्मत रुपमा वडा कमिटि चयन गरिएको जानकारी दिए। उनका अनुसार कैलालीका १ सय २५ वडामा अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारी गरेर २ हजार ५ सय २४ सदस्यीय कमिटि चयन गरिएको छ भने कञ्चनपुरका ४३ वडामा १ हजार २ सय ४७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।
यस्तै डोटीका ३७ वडा र बझाङका ३७ वडामा सामान १ हजार ३७ सदस्यीय कमिटि चयन गरिदा दार्चुलाका ३६ वडामा १ हजार ४४ सदस्यीय कमिटि बनेको छ । बैतडीका ३४ वडामा ९ सय ८५, डडेल्धुराका ३० वडामा ८ सय ७१, बाजुराका २८ वडामा ८ सय १२ र अछामका १४ वडामा ४ सय ६ सदस्यीय वडा कमिटि सर्वसम्मत भएको छ ।
८८ स्थानीय तहका कुल ७ सय ३४ वडा रहेको सुदूरपश्चिममा ४ सय ८ वडा सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । बाँकी रहेका वडामा सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने गरेर सम्मेलन जारी राखिएको छ । प्रदेश अध्यक्ष भण्डारीले मंसिर ८ गतेभित्र वडाको सम्मेलन सम्पन्न गरेर ११ गते पालिकास्तरको सम्मेलन गर्ने कार्यसूची तय गरिएको जानकारी दिए ।