बैतडीमा काँग्रेस अधिवेशन र जाँत मनाउन ५ दिन बिधालय बन्द

धनगढी । बैतडीमा नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि तीन दिन पठनपाठन बन्द गर्न विद्यालयलाई पत्राचार गरिएको छ। दशरथचन्द नगरपालिकाले जिल्ला सदरमुकाम आसपासका चार विद्यालयलाई बुधबार पत्राचार गरी तीन दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेको हो।

नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई जिल्ला अधिवेशनका लागि विद्यालयमा विदा गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको छ।

यस्तै जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। जिल्लाको मेलौली नगरपालिकाले आज एक सूचना जारी  गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो । मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी र्दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.