घटस्थापनाकाे दिन सपथकाे तयारीकासाथ मन्त्री छान्न पार्टीका छुट्टा-छुट्टै बैठक
सत्तागठबन्धनबीच मन्त्रालयको संख्या र नाममा भागबण्डा टुंगिएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् ।
गठबन्धन घटक दलहरुको छुट्टाछुट्टै बैठक अहिले पनि जारी छ।यसैक्रममा पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने बताइएको छ । यस्तै, मन्त्री छनौटका लागि नेपाली कांग्रेस पौडेल पक्षले पनि बैठक डाकेको छ ।
नेताहरुका अनुसार कांग्रेसको भागमा ८, माओवादी केन्द्रको भागमा ५, एकीकृत समाजवादीको भागमा ४ र जनता समाजवादी पार्टीको भागमा ४ मन्त्रालय परेको छ । कांग्रेसले गृह, परराष्ट्र र कानुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिइसकेको छ । अब, सञ्चार तथा सुचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसले लिनेछ । प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एस) का अध्यक्ष नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादवसहित सत्तारुढ दलका नेताहरूको बैठक बसेको थियो ।
माओवादी केन्द्रले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिइसकेको छ। माओवादीको भागमा शिक्षा तथा विज्ञान प्रविधि, खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिनेछ ।यस्तै एसले उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम रोजगार तथा सामजिक सुरक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएको छ । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)ले एक एक राज्यमन्त्री पाउने सहमति भएको छ । गठबन्धनबीच जसपालाई उपसभामुख दिने सहमतिसमेत भएको छ ।