कांग्रेसले कैलालीसहित १० जिल्लाको सदस्यता विवाद टुंग्यायाे
नेपाली कांग्रेसले कैलालीसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। सदस्यता छानविन समितिले कैलाली, काठमाडौं लगायतका १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो।
कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता प्रिन्ट भइसकेको जानकारी दिए। पौडेलका अनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौंसहित काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन्।
विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने पौडेलले जानकारी दिए। निर्वाचन समितिका एक सदस्यले सम्भवत् आज बेलुकीसम्म विवादित सबै २० जिल्लाको सदस्यता विवाद टुंगिने खबर पाएको जानकारी दिए। कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाका वडामा अधिवेशन गरिसकेकाे छ।
५ असोजमा बाँकी २० जिल्लामा अधिवेशन गर्ने तयारी छ। परिवर्तित निर्वाचन कार्यतालिका अनुसार पालिका तहमा ९ असोजमा अधिवेशन हुने छ। त्यसअघि नै सबै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ।