संसद अवरोध अन्त्य गर्न सभामुखले डाके शीर्ष नेताको बैठक
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको बातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए ।
सभामुख सापकोटाले विश्वासको वातावरण बनाउने बताएका थिए । तर कानून मन्त्री कार्कीले उच्च राजनीतिक तहमा नै यसबारे छलफल गरिनुपर्ने प्रस्ताव गरेका थिए । यसपछि सभामुख सापकोटाले उच्च तहमा सम्वाद अगाडि बढाउने बताए ।एमालेले २३ भदौ यता प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमाले अवरोधकै बीच चालु आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेट समेत पेश भएको छ । तर एमालेको अवरोध कायमै रहेपछि अर्को बैठक २९ भदौसम्मका लागि स्थगित भएको छ ।
एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ जनालाई पदमुक्त गर्ने निर्णय सभामुखले कार्यान्वयन नगरेको भन्दै संसद् अवरोध गर्दै आएको छ ।