माधव समुहकाे पार्टी दर्ता हस्ताक्षर प्रमाणीकरणमा काे आए, काे छुटे ?
काठमाडौँ । नेकपा एमाले विभाजन गरेर नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि आयोगले बुधबार आयोगले सनाखत गराएको छ । सनाखतका क्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३० जना सांसदले सनाखत गरेको सांसद पार्वती विसुंखेले दावी गरिन् । उनका अनुसार ६० जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।
निर्वाचन आयोगमा सनाखत भएको संख्या सांसदमा अपुग भए पनि केन्द्रीय सदस्यमा भने पुगेको छ । राष्ट्रिय सभामा ३३ र प्रतिनिधि सभामा १२१ गरी एमालेका १५४ सांसद थिए । त्यसको २० प्रतिशत पुर्याउन माधव समूहलाई ३१ जना आवश्यक थियो ।
तर ३० जनालेमात्र सनाखत गर्दा उसले संसदीय दलमा २० प्रतिशत पुर्याउन सकेन । यस्तै साविकको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउन ४१ जना आवश्यक पर्नेमा ६० जनाले सनाखत गरेकाले अब केन्द्रीय सदस्यको संख्याका आधारमा सो दलले वैधता पाउने देखिएको हाे ।
काे आए, काे छुटे ?
दिल्लीमा उपचाररत् वरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासवाट पठाएकाे मञ्जुरीनामा स्वीकार गर्दै आयाेगले उनको हस्ताक्षर प्रमाणीकरण गरिदिएको छ। उता एमाले परित्याग गरेर माधव समूहमा लागे पनि सोमप्रसाद पाण्डे र माया ज्ञवालीको भने हस्ताक्षर प्रमाणीकरण हुन सकेन । सुरुमा नै माधव समूहवाट आयोगलाई हस्ताक्षर बुझाएका केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा नै पुगेनन् ।