झलनाथ–माधव विना एमाले -२ जेठ २०७५ मा फर्कियाे

काठमाडौं । मंगलबार झण्डै दुई घण्टा लामो स्थायी कमिटीको बैठक सकिएपछि नेकपा एमालेका नेताहरुले तुलसीलाल अमात्यको सालिकलाई पृष्ठभूमि पारेर सामूहिक तस्वीर खिचाए । अध्यक्ष केपी शर्माको दायाँ र बायाँ उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल उभिएका थिए । पार्टीमा एकताको सन्देश दिने उद्देश्यका साथ तस्वीर खिचिरहँदा झण्डै ८ महिना लामो विवादपछि माधव नेपाललाई छोडेर ओली नेतृत्वको कमिटीमा आएका नेताहरुको तुलनामा संस्थापन पक्षका नेताहरु प्रशन्न मुद्रामा देखिएका थिए ।

त्यसअघि स्थायी कमिटीको बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्दै पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थाबाट क्रियाशील गराउने निर्णय गरेको थियो । यो निर्णयसँगै एमाले फेरि एकताबद्ध बनेको नेताहरु बताउँछन् । ‘यो बैठक पार्टी एकता र सुदृढीकरणका निम्ति विशेष रह्यो । हामीले सघन छलफल गरेर विशेष निष्कर्ष निकालेका छौं’, प्रवक्ता प्रदीप ज्ञवाली भन्छन् ।

नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको मंगलबारको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ दलमा नगएका स्थायी कमिटीका १० नेता सहभागी भएका थिए ।

उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।

वैचारिक मतभेद कायमै

दोस्रो पुस्ता एमालेमै फर्किए पनि वैचारिक मतभेद हल भएको छैन । संसद विघटन, त्यसलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोण फरक–फरक छ । अध्यक्ष ओली पक्ष संसद विघटनको पक्षमा छ भने त्यसविरुद्ध आएको फैसलालाई जस्केलाबाट निर्दलीय व्यवस्था फर्काउने प्रयास भनेको छ ।

लामो समय माधवकुमार नेपाल समूहका रहेका नेताहरुले भने संसद विघटनलाई असंवैधानिक र सर्वोच्चको फैसलालाई संविधानको रक्षाको पक्षमा भन्ने गरेका छन् ।

एउटै स्थायी कमिटी बैठकमा सहभागी दुवै पक्षले आ–आफ्नो मत कायमै राखेका छन् । सचिव प्रदीप ज्ञवाली भने आफूहरुको दृष्टि अतीतभन्दा भविष्यतिर भएको बताउँछन् । इतिहासका कतिपय विषयहरुको बारेमा समय क्रममा समीक्षा गर्छौं,’ उनले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.