माओवादीले तोक्यो प्रदेश र जिल्ला इन्चार्ज, सुदूरपश्चिममा खगराज भट्ट
नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।
सुदूरपश्चिम प्रदेश इन्चार्जमामा डडेल्धुराका खगराज भट्टलाई जिम्मेवारी दिएको छ। यस्तै प्रदेश २ मा गणेश साह, वागमती हितमान शाक्य, गण्डकी हितराज पाण्डे, लुम्बिनी चक्रपाणी खनाल र कर्णालीमा शक्तिबहादुर बस्नेत प्रदेशको जिम्मेवारी दिएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ। त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ ।
उनका अनुसार कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । उनले भने ‘अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछाडी प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ’, उनले भने, ‘निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ ।
यससँगै प्रतिगमनप्रति सचेत हुँदै अहिलेकाे विशेष परिस्थितिमा विज्ञान प्रविधिकाे अधिकतम प्रयाेग, साधन, श्रोत र विधिको पनि प्रयोग गर्न सिंगो पार्टी कमिटीमा निर्देशन गरिएको र पार्टीलाई विधिसंगत ढंग एवम् क्रान्तिकारी शक्तिहरुलाई एकीकृत गर्दै अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको श्रेष्ठले बताए ।