धनगढी । केही साताअघि दसैँ मनाउन घर फर्किनेहरूको भिड रहेकाे सुदूरपश्चिमका भारतसँगकाे नाकामा अहिले दसैँ सकेर परदेशतिर लाग्नेहरूको लाइन देखिन्छ । चाडको खुसी साटेर गह्रौँ मन लिएर परिवारको पेट पाल्नकै लागि उनीहरू फेरि भारततर्फ जाँदैछन् ।
बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी गौरीफन्टा नाकामा भारतको बैंग्लोर जाने गाडीको लाइनमा भेटिए । एक महिनाको दसैँ बिदा सकेर उनी आफ्नो पुरानै कर्मथलो फर्किंदै थिए । विगत १० वर्षदेखि उनले बैंग्लोरमा पसिना बगाएरै आफ्नो पाँच जनाको परिवार पाल्दै आएका छन् ।
‘घरको खेतीपातीले मुस्किलले दुई महिना खान पुग्छ । पाँच जना छोराछोरी छन्, सबैलाई पढाउनु प¥यो,’ उनले भने, ‘चाडबाड सकेर परदेश जान कसलाई पो रहर हुन्छ र ? तर के गर्नु ! बाध्यताले सबै कुरा भुलाउँदो रहेछ ।’ उनको जस्तै अवस्था कैलालीको गौरीगंगा निवासी भीम साउदको पनि छ । उनी भारतको सुरतमा ज्याला मजदुरी गर्छन् र त्यही कमाइले उनको परिवारको चुलो बल्छ ।
‘दसैँमा परिवारसँग भेट हुँदा जति रमाइलो लाग्छ, उनीहरूलाई छोडेर हिँड्दा मन त्यति नै भारी हुन्छ,’ साउदले भने, ‘यो बाध्यता कहिलेसम्म हो ! थाहा छैन ।’ लाइनमा उनीजस्तै बाजुराका टंक बुढा पनि थिए, जसले यसपालीको दसैँ लामो समयपछि सपरिवार मनाउन पाएका थिए । अब फेरि अनिश्चितकालका लागि विदेसिनुको पीडा उनको अनुहारमा प्रस्टै देखिन्थ्यो ।
पछिल्लो समय यो यात्रामा पुरुषमात्र छैनन्, महिला पनि कमाउन जानेहरूको लाइनमा देखिन्छन् । प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका महिलाहरू घरायसी कामदारका रूपमा भारत जान थालेकात्र छन् । उनीहरूले त्यहाँ खाना पकाउने, घर सरसफाइ गर्ने, लुगा धुने जस्ता काम गरेर परिवार पालिरहेका छन् । त्यसरी काम गर्नेमध्येकी एक महिला हुन् बझाङकी धौली धामी । उनी विभिन्न घरमा सरसफाइको काम गर्छिन् ।
‘कमाइ राम्रै हुन्छ । हाम्रो गाउँका धेरै दिदीबहिनीहरू यही काम गर्छन् । गाउँमा बसेर के गर्नु ? कुनै आम्दानीको बाटो छैन,’ उनले भनिन्, ‘कमाए पनि परिवार र आफ्नो देश छोडेर टाढा बस्दा मन त खल्लो हुन्छ नै । जे भए पनि आफ्नो देश भनेको आफ्नै हो ।’
धौलीका श्रीमान् भारतमै चौकीदारी गर्छन् । उनीहरूले आफ्ना छोराछोरीलाई पनि सँगै लगेका छन्, ताकि उनीहरूको पढाइ र भविष्य नबिग्रियोस् । उनीहरू जस्तै अहिले दसैँ मनाएर परदेशतिर लाग्नेहरू सयौँको संख्यामा लाइनमा उभिएका भेटिन्छन् । दसैँ मनाउन नपाएका कोही भने तिहारका लागि घर फर्किंदै गरेको भेटिन्छन् ।
नाकामा आउने–जानेहरूको चाहना स्वदेशमै केही काम पाए हुन्थ्यो भन्ने हुन्छ । आफूले जस्तोसुकै दुःख गर्नु परे पनि छोराछोरीको भविष्य सुन्दर होस् भन्ने सोच उनीहरूमा देखिन्छ ।