एक सयको रिचार्ज जसले बनायो करोडपति

काठमाडौं । भनिन्छ, जीवनमा जति दुःख र पीडा परे पनि कहिल्यै हार खानु हुँदैन । मिहिनेत गरिरहने हो, भाग्यले कतिबेला कोल्टे फेर्छ र सुखका दिन आउँछ भन्ने थाहा हुँदैन । त्यसैले, दुःख पीडा पर्नु भनेको कुनै दिन सुखको दिन पनि आउँछ भन्ने नै हो । त्यसरी सुख पाउनेहरू विरलै हुन्छन् । तर, धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल बसेराकी पार्वती कार्कीको जीवन यसैगरी कायायपटल हुँदैछ ।

विदेशमा श्रीमान्सँग कुरा गर्नका लागि खरिद गरिएको एनसेलको ९९ को रिचार्ज प्याकले उनलाई एक्कासि करोडपति बनायो । पार्वतीका लागि २ साउनको साँझ आएको फोनले सम्भवतः जीवनकै सबैभन्दा ठूलो खुसी लिएर आएको थियो । उनलाई एनसेलको एकै नम्बरबाट दिनभरी पटकपटक फोन आएको थियो तर मेलामा गएकाले उनले घरमै फोन छोडेकी थिइन् ।

पहिला त उनले पत्याइनन् र काठमाडौंमा सम्पर्क गर्न आउन भन्दा पनि पन्छाउन खोजिन् । दिनभरिको मेलापात सकाएर घरमा थकित हुँदै भान्सामा केही मीठो मसिनो बनाउँदै थिइन् । उनको फोनमा त्यही नम्बरबाट आएको कलको घण्टी बज्यो । ‘खाना पकाउँदै थिएँ, फोनको घण्टी बज्यो र केही समय उठाउने वा नउठाउने भनेर अलमलमा पर्दै उठाएँ,’ उनले भनिन्, ‘जब उताबाट यो तपाईंको आफ्नै नम्बर हो भनेर प्रश्न आयो, केही समय रोकिएर हो भनें, राम्रो पुरस्कार परेको छ, काठमाडौंमा एनसेल अफिस आउनुस् भन्नुभयो, मैले मेलाको चटारो छ, पछि आउँला भने, होइन सोमबारै आउनुस् राम्रो पुरस्कार छ भन्नुभयो, फेरि अनि फोन राखें ।’

पुरस्कार छ भनेर उताबाट भने पनि उनलाई विश्वास भने लागेन । उपहारका नाममा धेरै ठगी भएको र छलकपट पनि गर्ने गरेको खबर उनले पहिला धेरैपटक सुनेकी थिइन् । धेरैपटक फोन आएको त्यसमाथि महिलाले खबर फोनबाट सुनाएकाले केही न केही त हो भन्ने उनलाई खुल्दुली हुन थालेको थियो । शनिबार दिनभर छिमेकमा हल्लाखल्ला भयो । एनसेलबाट १ करोड जितेको भनेर छरछिमेकमा ठोकुवा हुन थाल्यो । सोमबार एनसेलले बोलाएकाले काठमाडौंमै काममा रहेका देवर र पढ्न बसेका छोरालाई लिएर एनसेल जान उनी आइतबारै धादिङबाट हिँडिन् ।

यतिन्जेलसम्म देवर र छोराले पनि काठमाडौं बोलाइसकेका थिए । जब काठमाडौं आएर फोनमा भनिएको एनसेलको केन्द्रीय कार्यालय पुगेर सिमको प्रमाणीकरण गराइन्, त्यसपछि उनी दंग परिन् । किनकि, एनसेलले उनलाई आधिकारिक रूपमा १ करोड रुपैयाँ नगद पुरस्कार जितेको आधिकारिक जानकारी दियो । जीवनमा कल्पनासमेत नगरेको पुरस्कार त्यो पनि १ करोड रुपैयाँ पाएको खबर पाउँदा उनको खुसीको सीमा नै रहेन ।

‘पुरस्कार पाएको खबर सुन्दा निकै खुसी छु, अब यो पैसाले सबै ऋण तिर्छु र विदेशमा रहेका श्रीमान्लाई नेपालमै राखेर केही उद्यम गर्छु’, उनले भनिन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.