डडेलधुरा। डडेलधुरा मेडिकल कलेजले मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु गर्ने भएको छ । स्थापना भइरहेको डडेलधुरा मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो।
सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकरण ओझाले जानकारी दिए । उनका अनुसार अहिले ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको र त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले बताए ।
अब आयोगले आउँदो कार्तिक १८ गते प्रवेश परीक्षा लिने र त्यसपछि विद्यार्थी पढाउने जानकारी प्राप्त भएको ओझाले बताए । माघदेखि कक्षा सञ्चालनको तयारी छ । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेलधुरा मेडिकल कलेजमार्फत ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरिएको थियो ।
डडेलधुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो । तर अहिले एउटा पाइएको छ । यो पनि उपलब्धि हो ।’