डडेल्धुरा । जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी र उपप्रमुखमा अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म ९ पदमा ९ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन्।उनीहरु सबैकाे नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी परेकाे हाे ।
प्रमुख भण्डारी अमरगढी नगरपालिका–७ मा वडा सदस्यमा विजयी भएका थिए भने उपप्रमुख ठडाली मगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएकी थिइन्। जिसस सदस्यमा लिला धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक‚ बसन्तीदेवी भूल र संजय जैरू पनि निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारहरू निविरोध निर्वाचित भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने बताइएको छ।
२ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो। जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो। सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति कांग्रेसकै नेतृत्वमा गठन भएको हो। नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको थियो। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो। एमालेले भने यहाँ शून्य छ।