धनगढी । सत्तारुढ नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपालले एमसीसी पास गर्ने गरी सत्तामा नबस्ने बताएका छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम भेलालाई सम्बोधन गर्दै नेपालले एमसीसी पास गर्ने गरी सत्तामा बस्न नसकिने बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन नरहन सक्ने भन्दै एमसीसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको बताए । तरपनि कुनै बुँदा नसच्याएरै संसदमा टेवल भएपछि एमसीसीको बिपक्षमा आफ्नो पार्टी रहेको उनले बताए । नेपाल कुनै बिदेशी हस्तक्षेप सहन नसक्ने दावी गर्दै नेपालले एमसीसीको बिपक्षमै रहेको बताए ।
नेपालले एमाले अध्यक्ष केपी ओलीलेनै बिभिन्न स्वार्थकालागि एमसीसी संसदमा पेश गरेको आरोप लगाए । एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारलेनै गरेका कारण उनिहरुलेनै देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाई छ । उनले भने- ‘देशभक्तीका नारा लाउँदै केपी ओलीनै राष्टघाती काममा सहभागी भएको र अहिलेपनि ओलीनै एमसीसी पास गराउनमा अघी बढ्ने संका पैदा भएको छ ।’