एमाले स्थायी कमिटीमा २६ नेता थपिँदा भीम रावल बाहिरै

नेकपा एमालेले आइतबार ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। केन्द्रीय कमिटीमा रहेका १९ जना पदाधिकारी स्वतः स्थायी कमिटीमा रहने भएकाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा नअटाएका शीर्ष नेताहरूलाई यसमा थपेका छन्। तत्कालीन एमालेको माधव नेपाल पक्षका घनश्याम भुसाल, रघुजी पन्तसहित  २६ नेतालाई स्थायी कमिटीमा ल्याइँदा भीम रावललाई भने राखिएको छैन।

हालै चितवनमा सम्पन्न दसौं महाधिवेशनअन्तगर्गत नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनमा रावल अध्यक्ष र भुसाल उपाध्यक्ष पदमा हारेका थिए। तर दुवै जना केन्द्रीय सदस्यमा भने चुनिएका थिए। तर भुसालले केन्द्रीय सदस्य पदको शपथ खाए भने रावलले पूर्वअडानअनुरूप शपथ खान अस्वीकार गरेका थिए।भक्तपुरमा दुई दिनदेखि जारी एमालेकाे केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीलाई पूर्णता दिएको हो।

जसमा रघुजी पन्त, मणि थापा, राजन भट्टराई, राजेन्द्र गौतम, कर्णबहादुर थापा, भीम आचार्य, हिक्मत कार्की, बिन्दा पाण्डे, डा. शिवमाया तुम्वाहाङ्फे र शेरबहादुर तामाङसमेत अटाएका छन्। महाधिवेशनका बेला ओलीले पदाधिकारी सूचीमा नराखेकाे भनेर विरक्तिएका लालबाबु पण्डितलाई पनि स्थायी कमिटीमा समेटिएकाे छ। तर त्याे सूचीमा भीम रावलकाे नाम छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.