आजबाट चिसो बढ्दै, वर्षा र हिमपातको पनि सम्भावना

काठमाडौँ । आजबाट देशभर थप चिसो बढ्दै छ । हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण तापक्रममा गिरावट आई आजबाट चिसो बढ्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ । यो प्रणाली आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ । आउँदो आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि सम्भावना देखिएको छ।महाशाखाअनुसार मंगलबार साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

आज बुधबारदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू-भागहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।भोलि बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

ती प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात सम्भावना छ ।पर्सी शुक्रबार देशभर बदली रहनेछ । पहाडी भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.