माओवादी केन्द्र आज देशभरका छहजार सातसय ४३ वडामा सम्मेलन गर्दै
धनगढी । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर नै वडा सम्मेलन गरिरहेकाे छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासमेत तय गरेको छ।
माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मतिमा गर्न भनेको छ। निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रूपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरेको छ। वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,
‘पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ एवं रूपान्तरित पार्टी निर्माणमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछ ।’
माओवादीले यही मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दै छ। आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सातसदस्यीय, पालिकामा पाँचसदस्यीय र वडा तहमा तीनसदस्यीय निर्वाचन समिति गठन गरेको छ।