उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको उपाधि धनगढीले जित्याे

धनगढी । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढीले उपाधि जितेको हो।

खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। जसमा धनगढी सफल भयो। सुरुवाति २ गोलको अग्रता जोगाउन नसक्दा ललितपुरले पराजय बेहोर्‍यो। खेलको १२ औँ मिनेटमा मनिषा शेनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन्। १६ औँ मिनेटमा निर्मला विकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्।

२४ औँ मिनेटमा धनगढीकी सीमा रावलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन्। ३९ औँ मिनेटमा रजनी थोकरले गोल गर्दा ललितपुर ३–१ ले अघि बढ्यो। ४९ औँ र ६४ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३–३ बराबरीमा ल्याइन्।

उपाधिसँगै धनगढीले ५ लाख तथा उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेका छन्। छनोटमा सहभागी ३१ टोलीमध्ये १० टोलीले नकआउट चरणमा स्थान बनाएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.