राष्ट्रियसभाकाे निर्वाचन माघ ८ गते हुने !
काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य पदका लागि माघ ८ गते चुनाव हुने भएको छ । निर्वाचन आयोगले माघ ७ र १० मध्ये एक दिन चुनाव गर्न सुझाव दिएकामा मन्त्रिपरिषद् बैठकले माघ ८ का लागि निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको बताइएकाे छ ।
‘स्थानीय तहका जनप्रतिनिधिसमेत मतदाता भएकाले जनताको सेवा प्रभावित नहोस् भनेर माघ ८ गते शनिबार चुनाव गर्ने कुरो छ,’ एक मन्त्रीले बताएकाे समाचार आजकाे कान्तिपुरमा छ । यसअघि आयोगका पदाधिकारीले कातिक ८ मा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य मन्त्रीहरूसँगको भेटमा फागुन २० मा राष्ट्रिय सभाका १९ सदस्यको म्याद सकिने जानकारी गराएका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत अर्का एक जनाको पनि त्यही बेला म्याद सकिने भए पनि त्यस ठाउँमा चुनाव गराउनुपर्दैन । राष्ट्रिय सभा निर्वाचन ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ ।