सुदूरपश्चिमका प्रदेश प्रमुखमा देवराज जोशी सिफारिस
धनगढी । सरकारले सुदूरपश्चिमसँगै तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । हिजो साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख फेर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रदेश १ को प्रमुखमा सिफारिस खापुङ जनता समाजवादी पार्टी र कर्णालीमा सिफारिस परियार माओवादी केन्द्र निकट मानिन्छन ।
सुदूरपश्चिममा सिफारिस भएका जोशी कांग्रेसका पूर्वसांसद हुन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन्। हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।