बिहे भोजमा झडप हुँदा चार घाइते, ५ मोटरसाइकल नियन्त्रणमा
धनगढी । कैलालीमा बिहे भोजमा झडप हुँदा चार जना घाइते भएका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा स्थानीय विनोद घर्तीको बिहे भोजमा सरिक भएका चार जना युवामाथि युवाहरुको अर्को समूहले शुक्रबार राति आक्रमण गरेको हो।
सो क्रममा बिहे भोजमा रहेका स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ, कृष्ण विक र खगेन्द्र खत्तेडी घाइते भएका छन्। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। ‘हामी बिहेमा रमाइरहेका थियौं, अचानक हामीमाथि आक्रमण भयो,’ घाइते विकले भने, ‘आक्रमण गर्नेहरुलाई हामी चिन्दैनौ।’ ५ वटा मोटरसाइकलमा आएका १२ जनाले आक्रमण गरेको घाइतेहरुले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताउदै कुटपिटमा संग्लनको खोजी भइरहेको बताए। प्रहरीका अनुसार बिहेमा सहभागी दुई समूहबीच विवाद भएपछि झडप भएको हो।