भयरहित वातावरणमा दशैं मनाउन प्रहरीकाे अनुरोध
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। दसैँ तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बताउदै ढुक्कसँग दसैं मनाउन कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आग्रह गरे।
‘जिल्ला भरीको सुरक्षा व्यवस्थ कडा छ, प्रहरी परिचालन भएका छन्,’ उनले भने, ‘कसैलाई समस्या परे प्रहरी र प्रशासनलाई खबर गर्न आग्रह गर्छु।’ चाडपर्वको समयमा जथाभावी रुपमा सवारी साधन चलाउने र तिव्र गतिमा गाडी हाक्नेलाई कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।
प्रदेशवासीलाई भयरहित वातावरणमा दसैं मनाउन आग्रहसहित प्रदेशभरी चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले बताए। ‘सुरक्षाको दृष्टिकोणबाट हामी पुरा तयारीमा छौं,’ उनले भने, ‘प्रदेश भरी नै दसैं सुरक्षा योजना लागू भएको छ। भयरहित वातावरणमा दसैं मनाउन अनुरोध गर्छु।’
अपराधिक क्रियकलापहरु रोक्नका लागि सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरका बजार क्षेत्र र बसपार्क क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।यहाँ तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामरावाट चेकजाँच गरिएको छ ।