दशैँ आयो, खाऊँला पिऊँला, कहाँ पाऊँला ?

दशैँ आयो,
खाऊँला पिऊँला,
कहाँ पाऊँला,
चोरी ल्याऊँला,
धत् पापी,
म त छुट्टै बसूँला ।

नेपालीहरुको महान चाड दशैँ र तिहार नजिकिने क्रमसँगै नेपाली समाजमा यस्ता लोकोक्ति बुढापाकाको मुखबाट निस्कन थाल्छन् । यस्ता पौराणिक लोकोक्तिलाई नबुझ्नेहरुले रमाइलोका रुपमा ग्रहण गर्छन्, तर बुझ्नेहरुले यसभित्रका गम्भीर विषयवस्तुलाई सूक्ष्म ढंगले अध्ययन तथा अनुशरण गरी व्यवहारमा उतार्छन् ।

दशैँ नेपालीहरुको महान चाड मात्र होइन कि, चाडपर्वको पनि महान् चाड हो । किनकि दशैँको दिन एकसरो कपडा भए पनि राम्रो र नयाँ लुगा लगाउने तथा मीठो खाने प्रचलन यथावत् छ । त्यसकारण दशैँ र तिहारलाई अन्य चाडपर्वहरुको भन्दा बढी महत्व दिइएको पाइन्छ । संस्कृतिविद्हरु भन्छन्, अझै पनि दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि दशैँ आउनु नै खान पिउनकै लागि हो ।’

दशैँमा चोरेरै भए पनि मीठो खानुपर्छ, नयाँ लाउनुपर्छ भन्ने कुरा उल्लिखित लोकोक्तिबाट प्रस्ट हुन्छ । प्राचीन कालमा चोरेर ल्याएर भए पनि वर्षमा एक पटक आउने दशैँ राम्रोसँग मनाउनुपर्छ भन्ने आम सर्वसाधारणको बुझाइ थियो । तर, त्यो भ्रम ग्रामीण बस्तीबाट बिस्तारै हट्दै गए पनि सहरी क्षेत्रमा भने फस्टाउँदै गएको छ । ग्रामीण क्षेत्रमा चोरी गरी दशैँ मनाउनुपर्ने अवस्था छैन । दशैँ ऋण जोहो गरेर भए पनि मनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको छ ।

लोकोक्तिले भनेझैँ छरछिमेकहरुबीच दशैँ मनाउन चोरी गर्नैपर्ने, चोरी गरी दशैँ मनाउँदा कसैलाई दुःख हुने भएकाले चोरलाई पापीको दर्जा दिने, कोही कसैले धत् पापी भन्दै चोरी गरेर दशै मनाउने छिमेकीबाट छुट्टै बस्न खोज्न थालेपछि ग्रामीण बस्तीबाट यस्तो परम्परा हराउन थालेको हो । हातको औँला भाँचीभाँची गाउँघरमा सुनाइने यो लोकोक्ति बढ्दो सहरीकरणसँगै सहरमा हाबी हुन थालेको छ । छरछिमेकको देखासिकीमा लागेर तडकभडकका साथ दशैँ मनाउने चलनसँगै चोरेरै भए पनि दशैँ मनाउनेहरुको जमात बढ्दो छ ।

विगतमा सामान्य तरिकाले दशै मनाउने प्रचलनमा परिवर्तन आएको छ । चाडबाडहरु दिनप्रति दिन महँगो बन्दै गएका छन् । दशैँमा फर्सी, काँक्रो, तरकारी, सुन्तलालगायतका फलफूल चोरी खानुलाई शुभ मानिन्थ्यो । ग्रामीण क्षेत्रबाट यस्ता प्रचलन हराइसकेका छन् । ग्रामीण क्षेत्रमा सक्रिय चोरहरु सहर पसेसँगै दशैँका नाममा ग्रामीण क्षेत्रमा हुने रमाइला परम्परा हराएका छन् ।

दशैँ हो या दशा

चाडपर्वहरु दिनप्रति दिन महँगो बन्दै गएका छन् । अर्काको देखासिकी र तडकभडक गरी मनाइने चाडपर्वहरु न्यून आयस्रोत भएका निम्न वर्गका लागि दशैँ नभएर दशा बन्ने गरेको छ । भगवान् भक्तिका नाममा बली चढाउनैपर्ने, माछा मासु खानुपर्ने, मीठो तथा नयाँ लुगा खरिद गर्नैपर्ने बाध्यताहरु नेपाली समाजका लागि जटिल बन्दै गएका छन् ।

विभिन्न क्षेत्रमा भरियाको काम गर्ने, ज्यालादर लिएर काम गर्नेहरु आफ्ना लागि दशैँ दशा हुने बताउँछन् । कोरोनाको कहरका कारण विगत ७ महिनादेखि अरुको भरमा पेट भरेकाहरुलाई चाडपर्वले पिरोलेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.