सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक खाता, असक्तलाई सास्ती
सीपी लोहिया
बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेदिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपाङ्गता भएकी सुमित्रा ५ बर्ष पुग्दासम्म केही स्वास्थ्य सुधार भएको थियो । त्यसपछि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिदै गयो ।
‘उनी बोल्न सक्दिनन् । अहिले उनी कोही नभएको बेला दादा, बाबा, दिदी मात्रै भन्न सक्छिन् । उनलाई होस पुरै छ । तर उठ्न, हिड्न र बोल्न सक्दिनन् । कोही मान्छे भेट्न पुग्यो भने उसको बारेमा बाआमासँग इसाराले कुरा गर्छिन्’ सुमित्राका बुवा प्रतापले भने । सुमित्राका लागि हरेक बेला एकजना घरमा स्याहार गर्ने मान्छे हुनुपर्छ । उनलाई उपचारका लागि नेपाल र भारतका १दर्जन बढि अस्पताल पु¥याइएको थियो । तर उपचार भने सम्भव भएन् । दिनदिनै उनको अवस्था बिग्रदै गएको छ ।
पूर्ण अशक्तको वर्गीकरणमा रहेकी सुमित्रा मासिक रुपमा अपांगता भत्ता पाउँछन् । विगतमा गाउँमा भत्ता वितरण हुनेहुदाँ समस्या थिएन । तर अबदेखि बैंक खातामार्फत भत्ता पाइने भएकाले उनका बुवाआमाले नागरिकता बनाउन १० हजारमा जीप रिर्जभ गरी जिल्ला प्रशासन कार्यालयसम्म पु¥याए । सुमित्राकी आमा शान्तीदेबीले भनिन् ‘आज सदरमुकाम आउन १० हजारमा गाडी बुकिङ ग¥यौँ । अब बैंकमा खाता खोलेको दिन पनि गाडी बुकिङ गर्नुपर्ने हो । उसैको भत्ता पाएपछि पैसा तिरौला ।’
सरकारले यस वर्षदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत वितरण गर्ने परिपत्र स्थानीय तहलाई गरेपछि सुमित्राजस्तै असक्तहरुलाई जीवन जीउन सहज हाेस् भनी दिएकाे सुविधा झन सास्ती भएकाे छ । ‘स्थानीय जनप्रतिनिधि र राज्यका अधिकारीले पनि यस्ता असक्तहरुलाई घरमै सेवा सुविधा दिनुपर्ने कर्तव्य हाे तर खै ?’ सुमित्राका बुवा प्रताप भने । यसरी पुर्ण असक्त रहेकी सुमित्रालाई सामाजिक सुरक्षा भत्ताबाहेक अरु सहयोग भने कतैबाट पनि पाइएको छैन् ।
उनको घरको आर्थिक अवस्था अत्यन्तै दयनिय छ । बिगतमा सुमित्राका बुवा भारतमा सानतिनो रोजगारी गरेर जिविका चलाउने गरेकोमा अहिले उमेर ढल्किदैँ जादाँ घरमै छन् । ‘हामी जस्ता अपांगताका परिवारलाई पनि कुनै निकायले हेरिदिए हुन्थ्यो । बिगतमा कमाएको पैषा छोरीकै उपचारमा खर्च भयो । अहिले दैनिक हातमुख जोड्न समस्या छ । प्रताप भन्छन् ‘कतै छोरीलाई ठुलो अस्पतालमा उपचार गराउन सके निको पो हुन्थ्यो की ? कसैले हामीलाई पनि सहयोग गर्लान की ? सुमित्राका बुवाआमाको मनमा दिनरात यहि कुरा खेलिरहेको हुन्छ ।’