बँदेललाई थापेको विद्युतीय पासोमा परि एकै परिवारका ३ जनाको मृत्यु
जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियाको ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। विद्युतीय पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।
छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरुलाई करेन्ट लागेको थियो। पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनी मृतक थारुका छिमेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।