सरकारले अनुदानमा पावर टिलर दिएपछि किसान उत्साहित
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले किसानलाई अनुदानमा पावर टिलर प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यूएनडीपी र स्वीट नेपालको ५० प्रतिशत लागत साझेदारीमा नगरपालिकाले आइतबार किसानलाई पावर टिलर हस्तान्तरण गरेको हो । सरकारी अनुदानमा कृषियन्त्र पाएपछि कृषकहरु भने उत्साहित भएका छन् ।
नगर प्रमुख अशोककुमार चन्द र प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले संयुक्त रुपमा विभिन्न वडाका २० जना किसानलाई पावर टिलर हस्तान्तरण गरे । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यअनुसार किसानलाई अनुदानमा पावर टिलर हस्तान्तरण गरिएको नगर प्रमुख चन्दले बताए ।
उनले आगामी दिनमा समेत कृषि आधुनिकीकरणका लागि यन्त्र, उपकरण दिएर किसानलाई सहयोग गर्ने नगरपालिकाको योजना रहेको सुनाए । नगरपालिकाले यूएनडीपी र स्वीट नेपालको लागत साझेदारीमा प्रति पावर टिलर दुई लाख तीन हजार रुपैयाँका दरले खरिद गरेको जनाएको छ । जसमा ५० प्रतिशत किसानको लगानी रहेको छ भने बाँकी रकम नगरपालिका, यूएनडीपी र स्वीट नेपालले संयुक्त रुपमा व्यहोरेका हुन् ।