अनलाइन गेममा ४० हजार हारेपछि बालकद्वारा आत्महत्या
काठमाडौं । इन्टरनेट मानिसको आधारभूत आवश्यकता मात्र बनेको छैन समस्याको कारक पनि बनिरहेको छ । एकातर्फ अनलाइन गेम निर्माता कम्पनीहरुले अर्बौँ डलर आम्दानी गरिरहेका छन् भने अर्कोतर्फ यस्ता अनलाइन गेमको लतमा बालबालिका तथा किशोर किशोरहरु नराम्रोसँग फस्दै गएका छन् ।
कहिलेकाहीँ अनलाइन गेमको लत यति चर्को हुन्छ कि बालबालिकाहरुले समय र पैसा मात्र होइन ज्यानै समेत गुमाउँदछन् । भारतको मध्यप्रदेशमा हालै एउटा यस्तै दुखद घटना भएको छ ।मध्यप्रदेशस्थित छरतपुरमा एक १३ वर्षीय बालकले अनलाइन गेममा ४० हजार भारु हारेपछि आत्महत्या गरेका छन् । अनलाइनमा फ्री फायर गेम खेल्ने बानी थियो ती बालकको । तर शुक्रबार आफु अफिस गएको बेला आफ्नो बैंक खाताबाट अचानक रकम कट्टी भएको मेसेस ती बालककी आमाले प्राप्त गरिन् ।
छोराले पैसा तिरेर अनलाइन गेम खेलेको र आफ्नो बैंक खाताबाट एकैपटकमा १५ सय भारु कट्टी भएको थाहा पाएपछि रिसले आगो बनेकी ती महिलाले फोन गरेर घरमा रहेको छोरालाई झपारिन् । त्यसरी आमाको गाली खाएका ती बालकले अन्ततः आत्महत्या गरे । बालकले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि छाडेका छन् । जसमा उनले आमासँग माफी मागेका छन् ।
आफुले अनलाइन गेमको चक्करमा ४० हजार भारु बर्बाद गरिदिएको र आफुले डिप्रेसनका कारण आत्महत्या गरेको उनले लेखेका छन् । वास्तवमा आमाले गाली गर्ने दिनमा मात्रै उनले अनलाइन गेममा १५ सय भारु खर्च गरेका थिए । अन्य दिनहरुमा समेत उनले लगातार पैसा तिरेर अनलाइन गेम खेल्दा उनले ४० हजार रकम खर्च गरिसकेका रहेछन् ।